लोमान्थाङमा फुटबल मैदान सहितको ‘खेलग्राम’ बन्दै

लोमान्थाङमा फुटबल मैदान सहितको ‘खेलग्राम’ बन्दै

पोखरा, १७ साउन / हिमालपारीको जिल्ला पर्यटकीय मुस्ताङ अब खेलकुद पर्यटन समेत गन्तव्य बन्ने भएको छ । रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्ने छ । लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ ।

४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदान सहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

‘पर्यटन मात्रै होईन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यको रुपमा समेत परिचय गराउने ध्येय छ’ उनले भने–‘त्यही ध्येयलाई मूर्तरुप दिन खेलग्रामको निर्माण गतवर्षदेखि नै थालेका हौं ।’ खेलग्रामको काठमाडौंस्थित एडोन इन्जिनियरिङ सोलुसन प्रा.लि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाएको हो । पानीको पर्याप्त उपलब्धताले पनि खेलमैदान निर्माणमा सहजता भएको छ । पानीको अभाव भने हुने छैन् ।

किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्व तर्फ १ सय २० मिटर लम्बाईको पर्खाल लगाईको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ । प्रतिवेदन अनुसार मैदानको चारैतिर बालुवा, ढुंगा, ग्राभेल छ । ‘एक करोड रुपैयाँले पर्खाल निर्माण र जमिन सम्याउने काममा खर्च गरिएको छ ।

’उनको भनाई थियो । फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्रयाक (सिन्थेटिक) बनाउने डिपिआरमा उल्लेख छ । ९ लेनको ट्रयाक भने गण्डकी प्रदेशमै छैन् । गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक ८ लेनको छ । १ मिटरको ट्रयाक मात्रै १० लेनको बनाइएको छ । उच्च हिमाली क्षेत्र भएकै कारण मैदान सिजनेबल हुने छ ।

‘संघीय सरकारले उपलब्ध गराएको एक करोड बजेटबाट काम शुरु गर्यौं’ उनले भने–‘अब संसद विकास कोषको रकम माग गर्दै छौं । प्रदेश सरकारलाई पनि घचघच्याईरहेका छौं ।’ डिपिआर अनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ । दुईहजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ । कुल लागत ५ करोड ९७ लाख रुपैयाँ छ । निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ । लोमान्थाङ पोखरादेखि २४० किलोमिटर दुरीमा रहेको प्रतिवदेनमा उल्लेख छ ।

खेलग्राम निर्माणपछि ‘हाईअल्टिच्युड टे«निङ सेन्टर’ हुने विश्वास गरिएको छ । उचाईकै कारण हुने समस्या न्युनिकरण गर्न गण्डकी प्रदेश सदस्य विष्टले स्वास्थ्य चौकी समेत निर्माण गर्ने योजना रहेको सुनाए । ‘स्वास्थ्य चौकी निर्माण प्राथमिकतामा छ । आन्तरिक तथा बाह्य पर्यटक मात्रै नभई अब खेलग्रामको लागि पनि अत्यावश्यक छ’ सदस्य विष्टले भने–‘लोमान्थाङमा स्वास्थ्यचौकी छ । त्यसलाई अझ विस्तृत गराउने योजना छ ।’ मुस्ताङकै जोमसोममा भने ८ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य शुरु गरिएको छ । गएको जेठदेखि निर्माण कार्य शुरु गरिएको हो ।

Editor: