no comments

पोखरामा माघ २४ देखी गल्फ प्रतियोगिता

पोखरा, २८ पुस/ पोखरामा माघ २४ गते देखि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ ।

पोखरामा पत्रकार सम्मेलनमा गदै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।

पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल ¥याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ ।

जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् ।

पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

हिमालय गल्फ कोर्स पोखराका निर्देशक किरण केसीले यस्तो बेलामा पनि साहसका साथ यो कार्यक्रम थालेको भन्दै पर्यटनलाई टेवा पुर्याउन यसले आइसब्रेकको काम गर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरालाई फुटबल, क्रिकेटले चिनाएको बताउँदै अब गल्फले पनि चिनाउन सहयोग गर्ने धारणा राखे । विदेशी पर्यटकले ४० देखि ५० डलरमात्रै पोखरा आएर दैनिक खर्च गर्ने भन्दै उनले यसलाई अलि विस्तार गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताए ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए भने प्रबन्ध सम्पादक राजेश केसीले कार्यक्रमको सञ्चालन गर्दै पर्यटनमा कोभिडले पारेको असर र त्यसको पुनरुत्थानमा सहयोग पुर्याउनका लागि कार्यक्रम गर्न लागिएको बताएका थिए

TechSansar.com - Technology Navigator website for Nepalese