no comments

आहा ! रारा गोल्डकपमा आठ टिम

पोखरा, २९ फागुन/ सहारा क्लब पोखराको आयोजनामा हुने १९ औ आहा रारा गोल्डकपमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा घरेलु टोली सहारा क्लब पोखरा, डिफेण्डिङ च्याम्पीयन मनाङम स्र्याङ्दी क्लब, गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, संकटा क्लव, मच्छिन्द्र क्लव, र क्यामरुनको डउला स्थित अफ्रिकन रुट एशोसियसन सहभागि हुने थापाले जानकारी दिए ।

क्यामरुनी टीम त्यहाँको अब्बल टीम भएको उनको दाबी छ । आहाको चौथो संस्करण अफ्रिकन युनाईटेडले नेपाल पुलिसक्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।

एन्फाले अनुमति दिए अनुसार दर्शक तथा पाहुनालाई एक सिट खाली राखेर बसाइने थापाले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाईपनि नगदसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोषल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गरेर २७ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese