no comments

पोखरामा बगाले बगेडी चराको संरक्षणप्रति चासो

पोखरा, ३१ चैत/ प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि पोखरामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

पोखरा पंक्षी समाज र नेपाल पंक्षी संरक्षण संघको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवाला बीचको अन्तक्र्रियामा संरक्षणमा सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।

बगाले बगेडी भँगेरा आकारको रंगीन र आकर्षक चरा हो । जाडोयाममा रुस, मंगोलिया, चीन लगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्छ ।

पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ । यो चरा नेपालको तराई क्षेत्र र पहाडका सिमसार भएका क्षेत्रमा पाइन्छ ।

पोखरा ९ ताल चराका लागि उपयुक्त बासस्थान भए पनि चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन भएको पोखरा पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

नेपालमा ८ सय ८६ प्रजातिका चरा अभिलेखीकरण भएका छन् । विश्वमा ११ हजार २ सय २५ प्रजातिका पंक्षी छन् । पोखरामा ४ सय ७२ प्रजाति र चितवनमा ६ सय ९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी ९ प्रजातिका पंक्षीलाई संरक्षित पंक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।

ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १ सय ५२ प्रजातिका पंक्षी जाडो छल्न आउने गर्छन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन् । नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशंक गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese