no comments

सृजना कप छात्र /छात्रा भलिबल प्रतियोगिता चैत ४ गतेदेखि हुने

पोखरा, २२ फागुन/ पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता हुने भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विगत ४ वर्षदेखि शुरु भएको प्रतियोगिताको यो चौथो संस्करण गर्न लागेको आयोजक कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराले आइतबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमले सहभागिता जनाउन सक्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । ‘खेलकुदको जग भनेको विद्यालय हो, त्यसैले भलिबलको जग (बेस) बलियो बनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौं’–उनले भने । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’

प्रतियोगिताले खेलाडी उत्पादन गर्न मद्धत पुग्ने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले बताए । ‘यसले सामुदायिक विद्यालयदेखि गाउँघरसम्म भलिबल खेलप्रति जागरण पैदा गराउँछ, भलिबल खेलप्रति आकर्षण जगाउँछ’–उनले भने । मध्यम र न्यून स्तरका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई भलिबल खेल्न प्रोत्साहित गर्दै भविष्यमा राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सघाउने आफुहरुको उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए ।

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताका लागि चैत २ गते पूर्वाह्न ११ बजेसम्म नाम दर्ता गराउन सकिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी गरी ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिवल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese