सामाजिक विकास मन्त्रालयकाा सचिवलाई जिल्ला भलिबल संघ कास्कीको स्वागत

सामाजिक विकास मन्त्रालयकाा सचिवलाई जिल्ला भलिबल संघ कास्कीको स्वागत

पोखरा, १८ माघ/ जिल्ला भलिबल संघ कास्कीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा हालसालै मात्र सरुवा भएर आएका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरलाई स्वागत गरेको छ । संघले आईतबार एक औपचारिक कार्यक्रम गरी सचिव कुँवरलाई स्वागत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुली, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सम्पन्न श्रेष्ठलगायतले माला र खादा लगाएर सचिव कुँवरलाई स्वागतसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भव्य स्वागत पाएर दंग परेका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरले गण्डकी प्रदेशको पहिचान खेलकुदपनि भएकाले सो पहिचान कायम गर्नेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाए । खेलकुदलाई उच्च प्राथमिकता दिएर योजना निर्माण र कार्यान्वयन गर्ने उनको भनाई थियो ।

सचिव कुँवरले सिमित श्रोत र साधनकाबीच काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उक्त सिमित श्रोत र साधनको उच्च प्रयोग गरेर सरकारले अगाडि सारेका योजना प्रभावकारी कार्यान्वयन गर्नेसमेत प्रतिबद्धता जनाए ।

प्रदेशको राजधानी कास्कीबाट प्रदेशका अन्य १० जिल्लाले सिक्ने र अभिभावकत्वको अपेक्षा गर्ने भएकाले खेल गतिविधिपनि सोहि अनुसार गर्न उनले सुझाव दिए ।

प्रदेश सांसद राजिव पहारीले गण्डकीबासी जनताले गर्व गर्ने र पछिसम्म जनजनको मनमनमा बस्नेगरी सचिव कुँवरले काम गर्ने विश्वास व्यक्त गरे ।

राखेप सदस्य सम्पन्न श्रेष्ठले खेलाडी उत्पादनमा अगुवाई गरिरहेको गण्डकी प्रदेश अहिले सुस्ताएको भन्दै सुस्ताउनुको कारण खोजेर समस्या समाधान गर्नुपर्ने बताए ।

जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले प्रदेशलाई खेलकुदको हब बनाउन आफूहरु लागिरहेको भन्दै त्यसको प्रयास स्वरुप मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

उनका अनुसार फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता हुनेछ । जसका लागि जिल्ला जिल्लामा खेलाडी छनौट प्रक्रिया चलिरहेको उनले बताए ।

Editor: