no comments

पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक

पोखरा, २५ माघ/ पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।

पोखरा थिएटरले आयोजना गरेको बिमोचन कार्यक्रममा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, वर्तमान अध्यक्ष रमेश बिजी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, थिएटरका अध्यक्ष परिवर्तन र स्रष्टा राजारामले कृति सार्वजनिक गरे ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले विश्वभरि महामारी रुपमा फैलिएको कोरोना कहरले पत्रकारिता र सञ्चारकर्ममा संलग्न राजाराम पौडेलको दैनिकीमा परिवर्तन ल्याएको बताईन् । पौडेललाई बधाई दिँदै कोइरालाले साहित्य र कलाको रुचीले आज मूर्त रुप लिएको उल्लेख गरिन् । उनले भनिन्,“राजारामको लकडाउन एउटा सुन्दर सिर्जनामा परिणत भयो । मानवीय भोगाइ र संवेदनाहरु अक्षर—अक्षरमा गीत, गजल र कविता बनेर पोखिए ।”

उनले एक सफल संचारकर्मी अब गीतकारका रुपमा परिचित भएको बताइन् । पौडेलले आफ्ना कृतिहरुमा मौलिक परम्परा र संस्कृतिलाई समेत उजागर गर्ने काम गरेको कोइरालाको बुझाई थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले राजाराम एक सालिन र सरल व्यक्ति भएको उल्लेख गरे । पत्रकारलाई आजदेखि गीतकारका रुपमा पनि परिचित गराउँन पाउँदा खुशी लागेको उनले बताए । राजारामका गीतहरुलाई रेकर्डिङका माध्यम बजारमा ल्याउन आफुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको थियो ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले राजारामले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेको बताए । सफल गीतकार समेत रहेका बिजीले आफुले चाहेर पनि लकडाउनमा सिर्जनालाई किताबको रुप दिन नसकेको तर राजाराम एक उदाहरणका रुपमा प्रस्तुत भएको उल्लेख गरे । उनले पौडेलको “लकडाउन —१२०” लाई सफल पार्न प्रतिष्ठानले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले राजाराम समयलाई व्यवस्थापन गर्न सक्ने पत्रकार भएको बताए । उनले भने,“राजाराममा समय व्यवस्थापनको खुबी छ । राजाराम एक पत्रकार त हुँदै हुन् । त्यो सँगसँगै उनी कास्की जिल्ला अदालतका जागिरे समेत हुन् ।” जागिर र पत्रकारिता सँगै सिर्जनामा पनि लाग्नु राजारामको विशेषता भएको उनले बताए ।

पोखरामा रंगपत्रकारितामा राजारामले सबै भन्दा धेरै कलम चलाएको तर्क उनको थियो । एउटा पत्रकारले गीतिसङ्ग्रह सार्वजनिक गरेको देख्दा आफु हर्षित भएको श्रेष्ठको भनाई थियो ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले थिएटरको शुरुवाती समयदेखि नै राजाराम पौडेलको राम्रो साथ मिलेको बताए । उनले पौडेललाई मृतभाषीका रुपमा समेत परिचित गराए । सबैसँग मिल्ने क्षमता राजाराम पौडेलको विशेषता भएको उनले उल्लेख गरे । काम प्रतिको लगनशिलता र समय व्यवस्थापनको खुबीले नै राजाराम आज पत्रकार सँगै गीतकारको ट्याग भिर्न सफल भएको उनको भनाई छ ।

कार्यक्रममा पत्रकार तथा गीतकार राजाराम पौडेलले आफुमा पहिल्यै देखि लेख्ने कला हुँदाहुँदै पनि विविध कारणबस पुस्तकका रुपमा प्रकाशित गर्न नपाएको जानकारी गराए । लकडाउन आफ्नालागि एक अवसरको रुपमा साबित भएको उनले बताए । गीतिसङ्ग्रहलाई बिमोचन प्रक्रियासम्म ल्याउन साथ दिने सबैलाई उनले धन्यवाद दिएका छन् । आगामी समयमा समेत नयाँ सिर्जनालाई पस्कदै जाने प्रतिबद्धता उनको छ ।

राजारामको सार्वजनिक कृतिका विषयमा कवि साहित्यकार लेखक जीवनसागर भण्डारीले समिक्षा गरेका थिए । उनले कृतिमा भएका आरोहअवरोहलाई मसिनो गरी केलाएका थिए भने राजारामको परिचय रमेश गिरीले दिएका थिए । कार्यक्रममा पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भूजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

२०४२ सालमा पोखरा २८ कालिका कास्कीमा जन्मिएका राजारामको “लकडाउन—१२०” (गीति सङ्ग्रह) पहिलो साहित्यिक कृति हो । आमसञ्चार तथा पत्रकारिता स्नातकोत्तर अध्ययन गरेका राजारामसँग कान्तिपुर पब्लिकेसन्स प्रालिसहित विभिन्न छापा तथा विद्युतीय माध्यममा गरी डेढ दशकको अनुभव छ । कला साहित्य बिटमा उनले पोखराबाट कलम चलाउँदै आएका छन् । पौडेल हाल रेडियो अन्नपूर्ण र पोखरा न्युज प्रालिमा आबद्ध छन् ।

उनी नेपाल पत्रकार महासंघ, चलचित्र पत्रकार सङ्घ कास्की, खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् । राजारामले १३ वर्षकै उमेरमा नेपाली कथानक चलचित्र “चमेली” मा बालकलाकारको रुपमा अभिनय गर्ने मौका पाए ।

दुई वर्षअघि बनेको चलचित्र “सुश्री सम्पत्ति” मा समेत उनको छोटो भूमिका छ । उसो त उनले कक्षा ५ पढ्दाताका नै नाटकमा अभिनय गरेका थिए । “तन्नेरी मन” रेडियो नाटकमा समेत अभिनय गरेको अनुभव पौडेल सुनाउँछन् । २०६० सालबाट उनको मिडिया क्षेत्रमा यात्रा सुरु भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese