no comments

बुद्ध एयरले पोखराबाट थप तीन सहरमा उडान गर्ने

पोखरा, ६ बैशाख / बुद्ध एयरले पोखराबाट थप तीन नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना सोमबार सार्वजनीक गरेको छ ।

बुद्ध एयरले पोखरा पत्रकार सम्मेलन गरेर पोखरा–नेपालगञ्ज, पोखरा–विराटनगर, पोखरा–सिमरामा थप उडान गर्ने एयरलाइन्सका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिए । बुद्धले यस अगाडी पोखरा–भैरहवा, पोखरा– भरतपुर र पोखरा– काठमाडौं उडान गर्दै आएको थियो । एयरलाइन्सले भरतपुर–भैरहवा, तुम्लिङटार–विराटनगर रुटमा पनि उडान गर्ने जोशीले जानकारी दिए ।

बैशाख १८ गतेदेखि नयाँ गन्तव्यमा उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ । नयाँ गन्तव्यको उडान बिच क्राफ्टबाट हुने उनले बताए । सुरुमा १८ सिट क्षमताका बीचक्राफ्ट १९०० डी सिरिजका जहाजबाट यी रुटमा उडान सुरु गर्नेछ । सातामा तीनदिनका दरले उडान हुने र यात्रुको माग बढ्दै गएमा सातैदिन पनि उडान गर्न सकिने उनले बताए ।

बुद्धले पोखरालाई आधार मानेर नयाँ गन्तव्यमा उडान गर्दा आन्तरिक र भारतीय पर्यटकलाई पोखरा ल्याउन सहज हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
बुद्धले अहिले पोखरा–काठमाडौं दैनिक १० वटासम्म ७२ सिट क्षमताका एटिआर ७२–५०० सिरिजका जहाजबाट उडान गरिरहेको छ ।

१४ जहाजबाट अहिले बुद्धले दैनिक १ सय २० भन्दा बढी उडान गरिरहेको छ । बुद्ध सगँ ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक उडान गर्दै आएको छ । नयाँ गतव्यको न्यूनतम भाडा पोखरा–नेपालगञ्ज ४ हजार ५ सय, पोखरा–विराटनगर ६ हजार, पोखरा–सिमरा ४ हजार ३ सय, पोखरा– भैरहवा ३ हजार १ सय, भैरहवा–भरतपुर २ हजार ५ सय, विराटनगर–तुम्लिङटार ३ हजार १ सय तोकेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese