no comments

नेपालगञ्जमा पोखरा प्रबर्द्धन अभियान

नेपालगंज, २१ फागुन / पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रवर्द्धन अभियान शुक्रबार बाँकेको नेपालगञ्जबाट सुरु भएको छ । कोभिड- १९ का कारण थला परेको पर्यटनलाई पुनर्जिवन दिन यो अभियान सुरु गरिएको संघले जनाएको छ ।
पूर्वी नेपालका विभिन्न शहरमा झण्डै तीन महिना अघि यस्तो अभियान संचालन गरिएकोमा त्यसैको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि अभियानलाई निरन्तरता दिईएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
नेपालगंजका अतिरिक्त बर्दिया, कंचनपुर र धनगढीमा पनि अभियानका कार्यक्रम हुने छन् । छलफल, अन्तरक्रिया र पत्रकार सम्मेलन अभियान अन्तरगत संचालन हुने संघले जनाएको छ ।
नेपालगंजमा आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ नेपालगंजका अध्यक्ष आतिष सम्शेर राणाले कोभिड १९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको स्मरण गराए ।
समस्याका वापजूद ब्यबसाय अगाडि बढाउनुको विकल्प नभएको उनले बताए। यस्तो अवस्थामा पर्यटकलाई मुक्तिनाथ पुर्‍याउने प्याकेज पोखरा र नेपालगंजका ब्यबसायीले संयुक्त रुपमा संचालन गर्न सकिने प्रस्ताव पनि राणाले राखे ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगंज-पोखरा ७ फागुनदेखी आरम्भ भएको चारटर्ड उडानलाई निरन्तरता दिने तर्फ सम्बन्धित सबैले ध्यान दिनु पर्ने भनाई राखे ।
पर्यटन प्रबर्द्धन मंच बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दुई शहर विच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी शहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।
सो अवसरमा बोल्दै पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष तुलाचनले पोखराको पर्यटकीय सेवा सुविधामा भारी छुट प्रदान गरिएको बताउँदै अहिले पोखरा घुम्ने उपयुक्त अवसर भएको बताए । सिमा नाका खोल्ने र हवाई सेवा दिगो बनाउनेतर्फ सरकार निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने उनले भनाई राखे ।
पश्चिमान्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदस्य भरतराज पराजुलीले १९ वर्ष अघि सुरु भएको जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रबर्द्धनमा सकारात्मक प्रभाव परेको बताए । पर्यटनमा कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र नेपालगंज विचको हवाई सेवा दिगो बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा नेपालगंज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर, पत्रकार झलक गैह्रे, ब्यवसायी चिरन्जिवी ओली लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।
कोभिड १९ का कारण बन्द गरिएको नेपाल-भारत सिमा नाका खुलेमा पोखरा नेपालगंज हवाई सेवा दिगो हुन मद्दत पुग्ने सो अवसरमा व्यवसायीले बताएका थिए । नेपालगंज स्थित बुद्ध एयरका विनित शाहले सिमा खुले अप्रिल १ तारिखबाट सो एयरलाइन्सले पनि पोखरा नेपालगंज दैनिक उडान सुरु गर्ने जानकारी दिए ।
अहिले सीता एयरले हप्तामा दुई दिन यो रुटमा चारटर्ड उडान गर्दै आएको छ । नाट्टा बाँकेको पहलमा यो सेवा संभव भएको जनाइएको छ । जाउँ है पोखरा अभियानको १४ सदश्यीय टोली सोही विमान सेवाको जहाज मार्फत्  ४५ मिनटमा शुक्रबार नेपालगंज पुगेको हो ।
TechSansar.com - Technology Navigator website for Nepalese