no comments

पोखरा विमानस्थलको काम समयमै सकिन्छः पर्यटन मन्त्री भट्टराई

अहिले सम्म ६४ प्रतिशत काम सकियो

पोखरा, २७ भदौ / पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको शनिबार निरीक्षण गर्दै तोकिएकै समयभित्र सकिने बताएका छन् । उनले कोरोना भाइरसका कारण ६ महिना अगाडी सक्ने लक्ष्य पुरा नभएपनि आयोजनाको काम २०२१ जुनभित्रै सकिने बताए ।

उनले अहिले चिनियाँ कामदार ल्याउन र आयोजना निर्माणमा चाहिने सामग्री ल्याउन नसकिएको उनले बताए । चिनियाँ कामदार ल्याउन आयोजनाले पराराष्ट्र मन्त्रालय मार्फत् पत्राचार गरेर चिनियाँ सरकारका एजेन्सीहरूसँग कुरा गरेर कामदार ल्याउने प्रक्रिया अगाडी बढेको उनले बताए । अन्तर्राष्ट्रिय उडान खुल्दै गएकाले विदेशबाट आवत–जावत गर्न समस्या नपर्ने उनको भनाइ छ । आयोजना निर्माणको काम सन्तोषजनक रहेको बताए ।

विमानस्थल निर्माणमा अहिले १ सय ८० जना चिनियाँ र १ सय जना नेपाली कामदार गरी २ सय ८० जना कामदारले काम गरिरहेको आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए । उनले अहिले सम्म ६४ प्रतिशत निर्माणका काम सम्पन्न भईसकेको बताए । आगामी डिसेम्बरभित्र २ सय जना बढी चिनियाँ दक्ष कामदार एवं प्राविधिकहरू ल्याउनुपर्ने उनले बताए । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ ।

विमानस्थलको रनवे, एप्रोन, ह्याङ्गर, पाइपलाइन, ट्रान्सफर्मर लगायतका काम अहिले सकिएको छ भने अहिले टर्मिनल भवन, विमानस्थलभित्र एक्सेस रोड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उनले विमानस्थलमा आवश्यक १४ वटा भवनको काम अन्तिम चरणमा पुगेको बताए । अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड भित्र रहेर फोरडी मोडलमा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका बिमान उडान तथा अवतरण गर्न सक्छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese