no comments

केदारनाथ/दिव्यश्वरी उपाध्याय स्मृति ग्रन्थ लोकार्पण

पोखरा, २३ जेठ/ पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ स्थित अग्निहोतृ पं. केदारनाथ/ दिव्यश्वरी उपाध्याय तिमिल्सिना स्मृति ग्रन्थ २०७८ को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

स्व. केदारनाथ उपाध्यायको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वेद विद्याश्रमका सल्लाहकार लक्ष्मीराज शर्मा गौतमले वेदगुरुको कीर्तिलाई कायम राख्न सबै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । वेदगुरुले रुद्राभिषेक, सन्ध्योपासना र शुक्लयजुर्वेद अध्ययनलाई सारस्वरसहित गर्नुपर्ने वैदिक नियमलाई कायम राख्दै वेदगुरुका उत्पादक र विद्याश्रम परिवार लागे गुरुको स्मरण चिरस्थायी हुने बताउनुभयो ।

कीर्तिमाथि समीक्षा गर्दै धर्मशास्त्री गुरु गङ्गाधर तिमिल्सिनाले वेद गुरुले अङ्गीकृत गरेको वैदिक नियमले नै सबैलाई आवश्यक अनुशासनको ज्ञान दिने भन्दै वर्तमान समयमा वैदिक ज्ञानको संरक्षण नै सबैको आवश्यकता भएको बताउनुभयो ।

विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. पिताको जिम्मेवारीलाई निर्वाह गर्न प्रतिबद्ध भएर लाग्ने भन्दै वैदिक नियम र धर्मको संरक्षणमा सबैले साथ र सहयोग दिन आग्रह गर्नुभयो ।

स्मृति ग्रन्थका प्रधान सम्पादक डा. बलराम उपाध्याय रेग्मीले वेदगुरुको सङ्गतले आफूलाई धेरै कुरा सिकाएको भन्दै स्मृति ग्रन्थ नै मूल्यवान सम्पत्ति भएकाले यस्तो चिरस्थायी सम्पत्तिको जिम्मेवारी दिएर आश्रम परिवारप्रति धन्यवाद ज्ञापन दिनुभयो ।

नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजेन्द्रराज तिमिल्सिनाले अग्निहोतृ यज्ञको महिमा प्रष्ट्याउँदै वैदिक ज्ञान र नीतिले सबैलाई अनुशासनको पाठ सिकाउने बताउनुभयो ।

विद्याश्रम कार्यसमितिका उपाध्यक्ष दुर्गानारायण अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्याश्रमका व्यवस्थापन समितिका अध्यक्ष मणिरत्न अधिकारी, समाजसेवी तथा मानवशास्त्री रुद्रप्रसाद तिमिल्सिना सचिव गङ्गासागर उपाध्याय लगायतले वेदगुरुको कीर्तिलाई जिवन्त राख्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese