no comments

पोखरामा हलोविन इभमा सोन्याज रनवे

पोखरा, १५ कात्तिक / अक्टोबरको अन्तिम दिन मनाइने अंग्रेजी पर्व हलोविन मनाउन लेकसाइडका पर्यटन व्यवसायीले कुनै कसर बाँकी राखेनन् । विशेषगरी रेस्टुरेन्टले हलोविन थिममा सजावट गरे । होटल तथा रेस्टुरेन्टका वेटरले मेकअप गरेर भूतजस्तै बने । हलोविन मनाउनेको भीडले आइतबार लेकसाइड भरिभराउ भयो ।

हलोविनको पूर्वसन्ध्यामा खपौंदीमा भने फरक दृश्य देख्न पाइयो । शनिबार हलोविन इभमा आयोजित ‘सोन्याज रनवे टिजर फेसन सो’ ले ताल किनारको चिसोलाई एकाएक गर्मायो । काठमाडौंको भोग लस्ट मोडल म्यानेजमेन्टले १० जना मोडललाई हलोविन थिममा रनवेमा उतारेको हो ।

लेकसाइडस्थित होटल साराको प्रस्तुतीमा भएको फेसन सोमा फेसन डाइरेक्टर एवं स्टाइलिस्ट थिइन्, सोन्या गुरुङ । झण्डै १५ वर्ष फेसन क्षेत्रको अनुभव अंगालेकी उनले मोडलको प्रस्तुतीमार्फत बोक्सी प्रथाको विरोध गरिन् । रनवे मोडललाई भूतका विभिन्न अवतारमा उतारिन् । चार सिक्वेन्समा भएको फेसन सोलाई उनी सुरुआत मात्रै मान्छिन् । ‘यो पोखराका लागि टिजर मात्रै हो,’ उनले भनिन्, ‘फेसनको क्षेत्रमा पोखरा अझैं धेरै गर्न बाँकी छ ।’ पाँच हजार २ सय मोडललाई एउटै ¥याम्पमा उतारेर ‘सोन्याज रनवे रिटन्र्स’ आयोजना गर्ने उनको योजना छ । त्यसका लागि स्थान छनोट गरिरहेकी छन् ।

उनलाई सानैदेखि पसलमा आउने नयाँ ब्रान्डका कपडा अवलोकन गर्थिन् । बिस्तारै फेसनमा रुची बढाउँदै गइन् । दुबइमा सेल्स गर्लको रुपमा जाँदा उनको डिजाइन रुचाइयो । नेपाल फर्किएर सिर्जनात्मक फेसन सो गर्न थालिन् । त्यसैको निरन्तरता हो, पोखराको फेसन सो । स्टाइलिस्ट समेत रहेकी सोन्याले चर्चिल सेलिब्रिटीलाई सिंगारेकी छन् । प्रेम गीत ३ को टिजरमा देखिएका नायक प्रदीप खड्कालाई उक्त अवतारमा उनैले उतारेकी हुन् ।

मिस नेपाल शृंखला खतिवडा, कलाकार नाजिर हुसेन लगायतको स्टाइलिस्ट उनी बनिसकेकी छन् । थुप्रै सौन्दर्य प्रतियोगिताको निणायकका रुपमा देशका विभिन्न सहरमा डुलेकी छन् । समाजसेवामा समेत सक्रिय उनले विभिन्न अनाथ बालबालिकालाई सहयोग गरेकी छन् ।

पोखराको सोन्याज रनवेमा उनलाई चर्चित डिजाइनर तेन्जिङ छेतेन भुटियाले साथ दिए । होस्टको रुपमा समाइरा श्रेष्ठको प्रस्तुती उत्कृष्ट रह्यो । विदेशी मोडल एलिज बायनिकको प्रस्तुतीले दर्शकको ध्यान तानेको थियो । दीक्षा अवस्थी, निष्ठा श्रेष्ठ, योगिता खत्री, मेकअप आर्टिस्ट सरु श्रेष्ठ, रेजिना बस्नेत, कारा श्रेष्ठ, सेजल थापा, रोनी श्रेष्ठ र निशिला शाक्य रनवे मोडलका रुपमा रहेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese