no comments

सेन्ट्रल गार्डेनद्वारा एक लाख ८२ हजार बराबरको सचेतना सामग्री वितरण

पोखरा, २१ भदौ / लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी स्वास्थ्य सचेतना, मास्क तथा स्यानिटाइजर वितरण समारोह आइतवार समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले विषम परिस्थितिमा जनतामा सचेतना जगाउन दैलोदैलोमा पुगेर सेन्ट्रल गार्डेनले गरेको सचेतनाको जति प्रशंसा गरे पनि कम हुने बताए । उनले विभिन्न सामाजिक संघसंस्थाका यस्तै गतिविधिले स्थानीय सरकारलाई विपत् व्यवस्थापनमा राहत पुग्दै आएको धारणा राखे ।

अतिथि नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले क्लबको सातदिने सचेतनामा छ दिनदेखि सहकार्यमा रही सर्वसाधारणमा व्याप्त कोरोनाको भ्रम चिर्न सचेतना सफल भएको जिकिर गरे । अतिथि देवकोटाले आगामी दिनमा पनि क्लबका उद्देश्य मिल्ने कार्यक्रमसँग सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।

जोन ९७ का जोन चियर पर्सन विशाल सुवेदीले सेन्ट्रल गार्डेनले विषम परिस्थितिमा विशाल र स्तुत्य कार्य गरेर क्लबको गरिमा उचो बनाएको बताए । क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले देशमा आइलागेका तमाम विपत् न्यूनिकरणमा लायन्स क्लबले खेल्दै आएको भूमिकालाई थप उचाइमा पुर्याउन इटा थप्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।

क्लबका पूर्व अध्यक्ष कृष्णबहादुर रानाभाटले समुदायस्तरमा कोरोना फैलिएपछि सर्वसाधारण त्रसित भएकाले थोरबहुत सचेतना जगाउन जोखिम मोलेरै लक्षित वर्गको दैलोदैलोमा पुगेको धारणा राखे । क्लबले सर्वसाधारणलाई कोरोनाबारे सचेतना गराई रोकथाममा टेवा पुर्याउने उद्देश्यका साथ भाद्र १५ गतेदेखि पोखराका सात सार्वजनिक स्थलमा सचेतना कार्यक्रम आयोजना गरेको थियो । मानवअधिकार चोकबाट शुरु भएको कार्यक्रम नगरपालिका चोक, सभागृह चोक, पृथ्वीनारायण क्याम्पस चोक, बिरौटा चोक, बसपार्क र प्रस्याङ चोकमा पुगी आइतवार समापन गरिएको हो ।

क्लबले सप्ताहव्यापी सचेतनामा थोकमूल्यमा एक लाख ८२ हजार बराबरको सचेतना सामग्री विपन्न र सीमान्तकृत वर्गलाई वितरण गरेको फाइनान्सियल डाइरेक्टर प्रमोद रानाभाटले जानकारी दिए । सचेतनाका लागि क्लबबाट ५० हजार विनियोजन गरिएकोमा सर्वसाधारणको भिड बढ्न थालेपछि क्लब पदाधिकारीले स्वेच्छिक सहयोगसमेत गरी सचेतना सफल पारेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्षबाट ११ हजार २ सय ५२ रुपैयाँ र प्रथम उपाध्यक्ष सुब्बा घिमिरेबाट १० हजार तीन सय बराबरको मास्क तथा स्यानिटाइजर, सचिव ई. सुुजित बिजुक्छेबाट दुई हजार एक सय ७०, डाइरेक्टर तुलबहादुर रानाभाटबाट ५ हजार र वर्तमान अध्यक्ष असफल गौतमबाट २३ हजार तीन सय २७ सहयोग प्राप्त भएको कोषाध्यक्ष दुर्गा सुवेदी बताउँछन् ।

सचेतना कार्यक्रममा दोस्रो दिनबाट सहकार्य गरेको नेलम्बो नेपालले कार्यक्रममा ७२ हजार ५ सय मूल्य बराबरको ५ हजार थान मास्क, १५ लिटर स्यानिटाइजर र ७ हजार थान सचेतना सामग्री हस्तान्तरण गरेको थियो । सचेतनाको चौथो दिन डागर स्मृति प्रतिष्ठानले एक हजार थान मास्क सहयोग गरेको क्लबका प्रथम उपाध्यक्ष सुब्बा घिमिरेले जानकारी दिए ।
क्लबको सात दिने सचेतनामा १४ हजार नौ सय थान सर्जिकल मास्क, ७५ लिटर स्यानिटाइजर, ७ हजार थान सचेतना बु्रसर वितरण गरिएकोमा उक्त सचेतनाबाट १० हजार दुई सय ६७ प्रत्यक्ष लाभान्वित भएको क्लबले जनाएको छ ।

समापन समारोहमा वडा नं. ५ का जनप्रतिनिधि अञ्जु केसी, हरिमाया विश्वकर्मा, नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले सचेतनाको सफलताको कामना गरेका थिए । क्लब अध्यक्ष असफल गौतमले सात दिने सचेतनालाई सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese