मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ आहा राराको फाइनलमा

मछिन्द्रलाई ३–१ ले हराउँदै एपिएफ आहा राराको फाइनलमा

पोखरा, १२ माघ/ सहित स्मारक ए डिभिजन लिगको शिर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई हराउदै एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो ।

यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रंगशालामा बुधबार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे भने मछिन्द्रका ओमोलाजा नुरेन करिमले एक गोल गरे ।

२५ औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि मणि लामाले झन्डै ३० यार्ड टाढाको फ्रिकिकमा सनिसले उत्कृष्ट जम्प गर्दै हेडमार्फन सुन्दर गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र बराबरीबाट चुक्यो ।

३२ औं मिनेटमा छिरिङको पासमा अभिषेक रिजालको हेडर सदुपयोग हुन सकेन । ४०औं मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सविन थापाले मेसुके ओलुमोउलाई फउल गरेपछि झन्डै ३० यार्डबार्ट कप्तान रेजिन धिमालको फ्रिकिकलाई अनमार्क रहेका करिमले हेडमार्फत सुन्दर गोल गर्न सफल हुदा गोलरक्षक युया कुरियामाले रोक्ने कुनै मौका नै पाएन ।

६४ औं मिनेटमा रेजिन धिमालको कर्नरलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ७७ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । कप्तान नविन लामाको क्रसमा गोलक्षक र डिफेन्डरबीच तालमेल मिल्न नसक्दा गोलरक्षक अघि बढेको अवस्थामा प्रदीपले गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा मछिन्द्र १० खेलाडीमा समेटिन पुग्यो । गोलकर्ता ओमोलाजा नुरेन करिनले रेफ्रीसँग विवाद गर्न थालेपछि रेफ्री नविन्द्र महर्जनले दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाए । ७४औं मिनेटमा नविन लामाकै क्रसलाई छिरिङले हेड गर्दै मछिन्द्रको संकट टारे । ७६औं मिनेटमा अर्मान्डले वान भर्सेस वानको अवस्थामा मौका पाएपनि लड्न पुगे ।

खेलको ९० औं मिनेटमा अर्मान्डको हेडर पोस्टभन्दा माथि जाँदा एपिएफ अग्रता बढाउनबाट बन्चित भएको थियो । इन्ज्युरी समयको सातौं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आवास लामिछानेको प्रहारलाई गोलरक्षक सुर्यले विफल पारेपनि रिबाउन्डमा नविनले खाली पोस्टमा सहजै गोल गरेका थिए ।

अब एपिएफले उपाधिको लागि आर्मी र मनाङबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल विहीबार हुनेछ । मनाङले पुलिसलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो भने आर्मीले थ्री स्टारलाई १–० ले पराजित गरेको थियो ।

Editor: