१३ औँ दक्षिण एशियाली खेलकूद संघ र व्यक्तिलाई पोखरामा सम्मान

१३ औँ दक्षिण एशियाली खेलकूद संघ र व्यक्तिलाई पोखरामा सम्मान

पोखरा, २ पुष / राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडी सहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सघसंस्थालाई नगदसहित सम्मान गरेको छ ।

राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर, नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही ५१ हजार ५ सय सहित सम्मान गरे ।

एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सघ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।

यसैगरी पत्रकार महासघं गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिएको थियो ।

यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराते खेलाडी राजु गैरे (नेपाली) का परिवारलाई १ लाख १ हजार १ सय ११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० आर्थिक सहयोग प्रदान गरिएको थियो ।

पूर्व भलिवल खेलाडी तथा प्रशिक्षकसमेत रहेका जीवन चौधरीलाई ७० हजार ७ सय ७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, गण्डकी प्रदेश विधायन समितिका सभापति एवं फाउण्डेशनका उपाध्यक्ष मोहन रेग्मी र फाउण्डेशनका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङ लगाएतले पुरस्कार प्रदान गरेका थिए ।

 

Editor: