no comments

मानुङमा थेग्नै नसक्ने गरी पर्यटकको ओइरो लाग्नुका ४ कारण

दमौली, २५ कात्तिक / शुक्रबार बेलुका देखी नै टेन लगाएर बस्नेको ठुलो सख्यामा भिड् थियो । शनिबार विहानैदेखि एक पछि अर्को गर्दै भ्रमण गर्न आउनेको लर्को लागेपछि तनहुँको पर्यटकीय नगरी मानुङकोटले धान्नै नसक्ने गरी पर्यटक पाएको छ । लकडाउन खुल्न थालेयता नै बढ्न थालेको पर्यटकीय चहलपहल शनिबार धान्नै नसक्ने अवस्थामा पुगेपछि कैयौं बाटैबाट फर्कनुपर्ने अवस्थामा पुगे ।

स्थानीय युवा नेता चाम थापाका अनुसार बिहान २ बजेदेखि नै एक पछि अर्को गर्दै मानिसहरु सवारी साधन लिएर आउन थालेपछि ५ बजेतिर नै धान्नै नसकिने अवस्था आएको थियो । खाली ठाउँ भएकाले मानुङ क्षेत्रमा पार्किङ गर्न सकिने भए पनि विहानको सूर्योदय हेर्नका लागि जानेको संख्या एकाएक ह्वात्तै बढेपछि पार्किङको समस्या देखियो ।

बाटा बाटामै पार्किङमा सवारी साधन राख्न थालिए पछि ढिला गरी पुगेकाहरु बाटामै सवारी राख्नुपर्ने अवस्थामा पुगे । भिड थेगि नसक्नु भए पछि कैयौं मानिस फर्किनुपरेको मनकामना युवा क्लबका अनुप आलेले बताए । व्यास ५ र म्याग्दे १ मा पर्ने मानुङ क्षेत्रको मुख्य चुचुरा भने व्यास नगरपालिकामै पर्छ । सैयौं मानिस आउन थाले पनि शनिबारको संख्या अहिलेसम्मकै बढी भएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘प्रचारप्रसारले गर्दा पनि पर्यटक बढ्न थालेका छन्,’ उनले भने ।

आखिर मानुङमा यतिविघ्न भीड कसरी लाग्यो त ?

१) खुलेको लकडाउनः शनिबार ठूलो भिड देखिए पनि मानिसको चहलपहल लकडाउन खुलेयता नै बढ्न थालेको हो । लामो समयसम्म लकडाउनले थुनिएका मानिसहरु नजिकैको ठाउँमा आफ्ना साधन लिएर आउन थालेका थिए । पछिल्लो समय विद्यालय नचलेका कारण विद्यार्थीको ठूलो संख्या त्यहाँ जान थालेको थियो । शनिबार भने पसल र व्यापार व्यवसाय पनि बन्द भएकाले मानुङ जानेको संख्या ऐतिहासिक हिसाबले बढेको सहजै अनुमान लगाउन सकिन्छ ।

२) प्रचारप्रसारः मूलधारका सञ्चारमाध्यममा मानुङबारे समाचार आउन थालेको लामै समय भयो । पछिल्लो समय मानुङ पुगेकाले सामाजिक सञ्जालमा गरेको पोष्टले पनि प्रचार बढाउन मद्दत पु¥यायो । साथीभाई पुगेर फोटो पोष्ट गर्न थाले पछि हेर्नेहरुलाई पनि यसले तान्ने नै भयो । सुन्दर ठाउँमा गएर फोटो खिचाउने र घुम्ने रहर जोकोहीलाई पनि हुन्छ । यसले पनि मानुङमा चहलपहल बढाएको छ ।

३) सहज यातायातः मानुङ जान चाहनेका लागि अर्को क्याटलिष्ट सहज यातायात बनेको छ । पहिले कच्ची बाटो धेरै भए पनि कालोपत्रे हुन थालेको मानुङको बाटो धेरै अघि बढिसकेको छ । कच्चि भागमा पनि स्तर सुधार भएकाले थाहा पाउनेका लागि मानुङ जानु निकै सहज बन्न पुग्यो । मोटरसाईकल, निजी सवारीका अलावा भाडामा लिएका सवारी पनि सहजै जान सक्ने अवस्था आएकाले पनि मानुङमा पछिल्लो समय पर्यटकको संख्या बढिरहेको छ ।

४) क्याम्पिङको सुविधाः अवलोकन गर्न चाहनेका लागि पहिले मानुङमा धेरै सुविधा थिएन । पसल पनि थिएनन् । तर अहिले एउटा भए पनि होटल छ । नजिकैका क्षेत्रमा होमस्टेको सुविधा छ । यसका अलावा पछिल्लो भाडामा लिएर क्याम्पिङसमेत गर्न सकिने भए पछि मानुङमा गएर रात बिताउने र सूर्योदयको अवलोकन गर्न सक्नेको संख्यामा वृद्धि हुन थालेको छ ।

साथीहरुको समूहमा आउने नाचगान गर्ने अनि फर्केनेको संख्या बढ्दो छ । चितवनबाट एक समूह लिएर आएका बिनेश थापाले क्याम्पिङ गर्न पाइने भएकाले साथीहरु लिएर आएको बताए । उनीहरुको समूहले पटक पटक मानुङमा क्याम्पिङ गरिसकेको छ ।

व्यवस्थापनको दबाबः मानुङलाई पर्यटकीय हिसाबले चिनाउन व्यास नगरपालिकाले आफ्नो पर्यटकीय क्षेत्रका रुपमा सूचीकरण गरेर काम थालेको छ । व्यास ५ वडा कार्यालयले डाँडामा पर्खाल लगाउने काम गरेको छ । यसका अलावा भ्यू टावरलगायतका काम पनि अघि बढ्ने तरखरमा छन् । बाटो कालोपत्रे निरन्तर भैरहेको छ ।

तर शनिबारको व्यवस्थापन गर्नै नसकिने गरी भएको भिडले थप काम गर्नुपर्ने सन्देश दिएको छ । यस कुरालाई वडाध्यक्ष श्रेष्ठ पनि स्विकार्छन् । सार्वजनिक शौचालयको अभाव एउटा मुख्य समस्या हो । श्रेष्ठ भन्छन्,‘शौचालयको काम तत्काल अघि बढाउनुपर्ने देखिएको छ, लक डाउनले रोकेका अरु काम पनि अब अघि बढाईहाल्नुपर्ने भएको छ ।’

तर मानिसको संख्या बढे पनि बसोबासको प्रबन्ध धेरैका लागि नभएको अवस्थामा अब व्यवसायीका लागि पनि नयाँ लगानी गर्ने अवसर पनि मानुङले दिएको छ । र, सँगै स्थानीय समुदायका लागि पनि यसले बाटो खुला गरिदिएको छ ।

दमौलीन्युजबाट लिएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese