no comments

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा खगराज अधिकारी, पुस २९ मा विस्वासको मत लिने

पोखरा, २६ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् ।

मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ सांसदको समर्थन दिएका छन् ।

एमाले संसदिय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री बन्न ३३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । अधिकारीले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा सोमबार दाबी प्रस्तुत गरेका थिए ।

अधिकारीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरे । गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३१ जना सांसद भए बहुमत पुग्छ ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् ।

२९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ । अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese