no comments

कोरानाका कारण कक्षा १२ सहित सबैखालका परीक्षाहरु स्थगित हुने

काठमाडौ, १८ साउन/ कक्षा १२ सहित विश्वविद्यालयले सञ्चालन गरेका सबैखालका परीक्षा स्थगित गर्ने तयारी गरेको छ । कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको हो ।

कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत गर्ने तयारी भएको छ । सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए । राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese