बाटो ढुकेर भागरथीको हत्या, हत्यामा संलग्न किशोरलाई सार्वजनिक

भागरथी भट्ट

काठमाडौं, ५ फागुन/ बैतडीकी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले बाटो ढुकेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजीत पत्रकार सम्मेलनमा गरी प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपीबारे सार्वजनीक गरेको हो ।

पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको बताए ।

ती किशोर दोगडाकेदार गाउँपालिका ७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए ।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएको अनुसन्धानबाट खुलेको छ ।

साथीहरूसँग सगँ हिडेका उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए ।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले बताए ।

तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा बताएका छन् । तर, पोष्टमार्टम रिपोर्टमा भने बलात्कार भएको देखिएको थियो ।

ती किशोर सोही ठाउँका हुन् । उनले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा भनेका छन् ।

Editor: