no comments

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

काठमाडौं, १२ भदौ / एपिवान टेलिभिजनले प्रशारण भएको नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेल बन्न सफल भएका छन् ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरे ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् ।

TechSansar.com - Technology Navigator website for Nepalese