‘मिस नेपाल वल्र्ड’को उपाधि नम्रता श्रेष्ठलाई

तस्बिरःअनलाइनखबरबाट

काठमाडौं, २१ मंसिर/ ‘मिस नेपाल वल्र्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । अन्य १९ जना प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपधि रक्षा गरेको हो । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरु छनौट भएका थिए ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् ।

नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

नम्रताले ‘मिस नेपाल वल्र्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जित्दा ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जित्न सफल भइन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले पनि अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो बर्ष ‘मिस नेपाल’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले नेपाल पर्यटन बोर्डसँग मिलेर ‘मिस टुरिज्म’ नामक नयाँ विधा समेत थप गरेको छ । ‘मिस नेपाल’मा प्रतिस्पर्धीहरुको मुल्यांकनको आधारमा विभिन्न सब–टाइटलमा पनि पुरस्कार प्रदान गरिन्छ । अनलाइनखबरबाट

 

Editor: