no comments

‘फिस्टेल ड्रिम फन पार्क’ निर्माणको काम अन्तिम चरणमा

पोखरा, १४ चैत/  पोखराको सीतापाइलामा ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भइरहेको छ ।

पार्क निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । कोरोना महामारी र लकडाउनका कारण फनपार्क निर्माणमा केही ढिलाइ भएपनि अहिले धमाधम काम भइरहेको कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए ।

अब छिट्टै पार्कको सफ्ट ओपनिङ गर्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पोखरामा ६५ रोपनी जग्गामा पार्क निर्माण भइरहेको उनको भनाइ छ ।

पार्क निर्माण सकेर सञ्चालनमा आएपछि धेरै पर्यटक आकर्षित हुने लगानीकर्ताहरुको विश्वास छ । परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भएपनि निर्माण समय लम्बिदा करिब १० करोड रुपैयाँ लगानी थप हुने बताइएको छ ।

पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ ।

यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार पार्न लागिएको केसी बताउँछन् । ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ,’ केसीले भने ।

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’

TechSansar.com - Technology Navigator website for Nepalese